काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टा ढिलो पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको हो।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि दोस्रो पटक सचिवालय बैठक बसेको हो। यसअघि गत शनिबार पनि ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक बसेर पार्टीले विरोधका कार्यक्रम तय गरेको थियो।
जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओली र त्यतिबेला गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले शनिबार बिहान उनकै निवासबाट पक्राउ गरेको थियो। उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आइतबार अनुमति दिएको छ। साथै, बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेशसमेत जारी गरिएको छ।
यस घटनालाई एमालेले गैरकानुनी र प्रतिशोधपूर्ण भन्दै आलोचना गर्दै आएको छ। आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीको आगामी रणनीति र धारणा तय गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।
