जेनजी आन्दोलनका क्रममा काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडीओ) रहेका छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सुविधानगर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीका उच्च अधिकारीले जानकारी दिएका छन्।
जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। भदौ २३ र २४ गते भएको प्रदर्शनका बेला उनी काठमाडौँका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए।
बानेश्वर क्षेत्रमा किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको आरोपमा रिजालको व्यापक आलोचना हुँदै आएको छ। तर, आयोगसमक्ष दिएको बयानमा उनले आफूले घातक हतियार प्रयोग गर्न आदेश नदिएको दाबी गरेका छन्।
उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार यसअघि नै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिसकिएको छ।
यस प्रकरणमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
