गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ जिल्लाबाट प्रतिस्पर्धा गरेका ६० उम्मेदवारमध्ये १० जनाले अझैसम्म चुनावी खर्चको विवरण बुझाएका छैनन्।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार खर्च विवरण नबुझाउने उम्मेदवारहरूमा निर्वाचन क्षेत्र नं. १ बाट आमजनता पार्टीका सीताराम यादव रहेका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टीका ढुण्डीराज थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतीक अधिकारी, नागरिक उन्मुक्ति पार्टी नेपालका झरेन्द्रबहादुर खत्री, आमजनता पार्टीका कृष्णबहादुर सुनार तथा स्वतन्त्र उम्मेदवार पदमप्रसाद पाण्डेले पनि विवरण बुझाएका छैनन्।
निर्वाचन क्षेत्र नं. ३ बाट जनता समाजवादी पार्टी नेपालका शोभा डाँगी, मितेरी पार्टी नेपालका सन्तोष सिंह, नागरिक उन्मुक्ति पार्टीका महेश चौधरी र स्वतन्त्र उम्मेदवार भागीराम चौधरीले समेत खर्च विवरण पेश नगरेको जनाइएको छ।
सूचना अधिकारी कुँवरका अनुसार निर्वाचन ऐन, २०७४को दफा ७२ बमोजिम उम्मेदवारहरूले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आफ्नो चुनावी खर्चको विस्तृत विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ।
समयमै विवरण नबुझाउने उम्मेदवारहरू कानुनी कारबाहीको दायरामा पर्न सक्ने सम्बन्धित कार्यालयले जनाएको छ।
