विश्व बजारमा इरानसँग सम्बन्धित बढ्दो तनाव र युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ। मंगलबार एसियाली कारोबारको सुरुवाती समयमै अमेरिकी कच्चा तेल (WTI) को मूल्य करिब ३ प्रतिशतले बढेर प्रतिब्यारेल १०६ अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
गत फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि पहिलो पटक अमेरिकी कच्चा तेलको मूल्य १०० डलरको मनोवैज्ञानिक सीमा पार गर्दै सोमबारको कारोबार उच्च विन्दुमा बन्द भएको थियो। यो मूल्य सन् २०२२ को जुलाईयताकै उच्च स्तर मानिएको छ। ऊर्जा बजारका विश्लेषकहरूका अनुसार यस्तो तीव्र वृद्धि मुख्यतः भू-राजनीतिक तनाव र आपूर्ति अवरोधको आशंकासँग प्रत्यक्ष रूपमा जोडिएको छ।
अन्तर्राष्ट्रिय बजारको मानक मानिने ब्रेन्ट क्रूडको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। मंगलबार यसको मूल्य २ प्रतिशतभन्दा बढीले बढेर प्रतिब्यारेल ११५ डलर पुगेको छ। ब्रेन्ट क्रूडको मूल्य वृद्धिले विश्वभर इन्धन मूल्यमा प्रत्यक्ष असर पार्ने भएकाले यसले उपभोक्ता बजारमा समेत दबाब सिर्जना गर्ने सम्भावना बढेको छ।
यसबीच डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कुनै सहमति नभए त्यहाँका महत्त्वपूर्ण पूर्वाधारहरूमा थप सैन्य आक्रमण गर्ने चेतावनी दिएका छन्। उनको यस कडा अभिव्यक्तिले बजारमा थप अस्थिरता सिर्जना गरेको छ। लगानीकर्ता तथा विश्लेषकहरूका अनुसार यस्तो राजनीतिक अडानले तेल उत्पादन र आपूर्ति श्रृंखलामा अवरोध आउने त्रास बढाएको छ, जसले मूल्यलाई अझै उकालो तर्फ धकेलेको हो।
त्यसैगरी बेन्जामिन नेतान्याहुले इरानसँगको युद्ध कहिले अन्त्य हुन्छ भन्नेबारे कुनै निश्चित समयसीमा तोक्न अस्वीकार गरेका छन्। अमेरिकी टेलिभिजन च्यानल न्युजम्याक्ससँगको अन्तर्वार्तामा उनले युद्ध अहिले “निश्चित रूपमा आधा बाटो” पार गरिसकेको दाबी गर्दै द्वन्द्व अझै केही समय लम्बिन सक्ने संकेत दिएका छन्।
