इलाम – इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले इलामको कृषि र पर्यटनको सम्भावनाबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सोमबार ब्रिफिङ गरेका छन्।
प्रधानमन्त्री शाहले कोशी प्रदेशका सबै सांसदहरूलाई बोलाएर आ–आफ्ना क्षेत्रका समस्या र समाधानका उपायबारे छलफलको आयोजना गरेका थिए। सो क्रममा नेम्वाङले इलामको कृषि र पर्यटनलाई प्राथमिकता दिन सके देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्न सकिने बताए।
नेम्वाङले भने, “बीउदेखि बजारसम्म सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न आवश्यक छ। कृषि र पर्यटन क्षेत्रलाई विकास गर्न सके स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुग्छ।”
सांसद नेम्वाङले पूर्वाधार विकास, विपद् व्यवस्थापन, शिक्षा, प्रविधि लगायतका समस्या पनि प्रधानमन्त्रीसमक्ष राखेका थिए। उनले दमक–चिसापानी सडकखण्डको ठेक्का विवाद र बेलासे सडकखण्डको अवस्थाबारे समेत जानकारी गराएका छन्।
प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका समस्याबारे सुनेर आवश्यक कार्ययोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
