काठमाडौं – सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
सोमबार न्यायाधीश मेघराज पोखरेल को इजलासमा भएको सुनुवाइपछि विपक्षीका नाममा उक्त आदेश जारी गरिएको हो। यसअघि पूर्वगृहमन्त्री रमेश लेखक को हकमा पनि यस्तै आदेश जारी भइसकेको थियो।
ओलीको पक्राउविरुद्ध उनकी पत्नी राधिका शाक्य ले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। त्यसैगरी लेखकलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गर्दै उनकी पत्नी यशोदा लेखक ले पनि रिट दायर गरेकी थिइन्।
भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठन गरिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखकविरुद्ध अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो।
सोही सिफारिसअनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अन्तर्गत अनुसन्धान अघि बढाइएको हो। सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीले शनिबार बिहान दुवै जनालाई पक्राउ गरेको थियो।
यसैबीच, जिल्ला अदालत काठमाडौं ले आइतबार ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
