तेहरान – इरान ले रणनीतिक स्ट्रेट अफ हर्मुज मा नयाँ नियन्त्रण प्रणाली लागू गर्ने संकेत दिएको छ। इरानी संसद (मजलिस) का सदस्य अलाएद्दिन बोरुजेर्दी का अनुसार प्रस्ताव चाँडै अनुमोदन हुने देखिएको छ।
बोरुजेर्दीले बताए अनुसार, प्रस्तावित प्रणाली अनुसार इरानको अनुमति बिना कुनै पनि जहाज स्ट्रेट पार गर्न पाउने छैन। यसले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्गमा इरानको नियन्त्रण थप कडा बनाउने अपेक्षा गरिएको छ।
उनी थप्छन्, ‘जहाजहरूको सुरक्षा सुनिश्चित गर्न र सेवा उपलब्ध गराउन लागत लाग्छ, त्यसैले ट्रान्जिट टोल उठाउने व्यवस्था आवश्यक छ।’ यसले अन्तर्राष्ट्रिय जहाजहरूबाट शुल्क असुल्ने इरानको योजना स्पष्ट गरेको छ।
अन्तर्राष्ट्रिय स्तरमा आणविक नीतिबारे पनि बोरुजेर्दीले कडा अभिव्यक्ति दिएका छन्। उनले इजरायल र अमेरिकाले इरानका आणविक संरचनामा आक्रमण गरेपछि आणविक हतियार अप्रसार सन्धि सान्दर्भिक नभएको दाबी गरेका छन् र सन्धिबाट बाहिरिनुपर्ने समय आएको बताएका छन्।
