काठमाडौँ, चैत १६ – नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट देखिएको छ।
सोमबार नेप्से परिसूचक ४७.७१ अङ्कले घटेर २,८३१.३९ को बिन्दुमा कायम भएको छ, जुन करिब १.६५ प्रतिशतको गिरावट हो। आज ३४१ कम्पनीका ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर १ लाख ५९ हजार ३२८ पटक खरिदबिक्री भएका छन्, जसको कुल कारोबार रकम रु १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ पुगेको नेप्सेले जनाएको छ।
आजको कारोबारमा सबै समूहका उपसूचक घटेका छन्। २३७ कम्पनीको शेयर मूल्य घट्दा २६ कम्पनीको मात्र शेयर मूल्य बढेको छ। रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाईड्रोपावर लिमिटेड, रिजलाईन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेडका शेयरमा सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा बढी गिरावट सोलु हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा देखिएको छ, जसको मूल्य ७.७९ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।
