काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा मधेस प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ।
यस जितसँगै मधेस प्रदेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चार खेलबाट समान ७ अंक जोडे पनि नेट रनरेटका आधारमा मधेस शीर्ष स्थानमा पुगेको हो भने त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ। प्रतियोगितामा हालसम्म मधेस र आर्मी मात्र अपराजित टोली रहेका छन्।
कर्णाली प्रदेश भने चार खेलबाट ३ अंकसहित छैटौँ स्थानमा छ। उसले एक खेल जित्दा दुई खेलमा हार बेहोरेको छ भने एक खेल बराबरीमा सकिएको छ।
जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशाला मा भएको खेलमा कर्णालीले दिएको १३० रनको सामान्य लक्ष्य मधेसले २४.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
मधेसका लागि ओपनर मयन यादवले २४ रन बनाउँदा निरज यादवले ३८ रनको योगदान दिए। अरनिको यादव ३२ रनमा नटआउट रहे भने रुपेश सिंह ४ रनमा अविजित रहे। पवन सर्राफले १७ रन बनाए।
कर्णालीका बलर दीपेन्द्र रावतले उत्कृष्ट प्रदर्शन गर्दै ८ ओभरमा एक मेडन राख्दै ४० रन खर्चेर ३ विकेट लिए। दिवान पुन र प्रकाश जैसीले समान एक–एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली ३१.२ ओभरमा १२९ रनमा अलआउट भएको थियो। कर्णालीका लागि रविन्द्र शाहीले सर्वाधिक ४० रन बनाए भने अर्जुन घर्तीले २४ रन जोडे। विपिन रावल र दिनेश अधिकारीले समान १८–१८ रन बनाए भने कप्तान दिवान पुनले १२ रन बनाए।
मधेसका बलर आशिक बैठाले ४ विकेट लिँदै कर्णालीलाई सानो स्कोरमा रोक्न महत्वपूर्ण भूमिका खेले। उनले ३४ रन खर्चेर एक मेडनसहित ४ विकेट लिए। विशाल पटेल र अरनिको यादवले समान २–२ विकेट लिए भने प्रदीप पासवानले एक विकेट हात पारे।
यस जितसँगै मधेस प्रदेशले प्रतियोगितामा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ।
