काठमाडौँ – लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारका लागि ठेकेदार कम्पनी छनोट भएको छ। सुरुङमार्ग निर्माण आयोजनाले चिनियाँ र नेपाली कम्पनीको संयुक्त उपक्रम (जेभी) युसिन–एआरटी लाई आगामी पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन र मर्मतसम्भार गर्ने जिम्मेवारी दिएको हो।
आयोजनाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै चिनियाँ कम्पनी चोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट र नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सन को जेभीलाई ठेकेदारको रूपमा छनोट गरिएको जानकारी गराएको छ। जेभीले २.६५ किलोमिटर लामो सुरुङमार्गलाई आगामी पाँच वर्षसम्म सञ्चालन, प्राविधिक व्यवस्थापन र मर्मतसम्भार गर्नेछ।
ठेक्का रकम भ्याट र प्रोभिजलनल सहित कुल १ अर्ब १० करोड ४० लाख ३७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन सरकारी लागत अनुमानभन्दा करिब ४० प्रतिशत कम रहेको छ। सम्झौताअनुसार, कम्पनीले वार्षिक औसत २२ करोड रुपैयाँमा सुरुङमार्गको सञ्चालन, सुरक्षा व्यवस्थापन, ट्राफिक नियमन र नियमित मर्मतसम्भारको जिम्मेवारी सम्हाल्नेछ।
सुरुङमार्ग निर्माण आयोजनाले सन् २०२५ नोभेम्बर २ मा बोलपत्र आह्वान गरेको थियो र प्राप्त प्रस्तावहरूमा सबैभन्दा कम रकम प्रस्ताव गर्ने युसिन–एआरटी जेभीलाई ठेक्का दिन निर्णय गरिएको हो। कम्पनीलाई आगामी एक साताभित्र सम्झौता प्रक्रियाका लागि सम्पर्क गर्न आह्वान गरिएको छ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको पहिलो यातायात सुरुङमार्ग हो। यसले काठमाडौं प्रवेश गर्ने सवारी साधनहरूको यात्रा समय र इन्धन खपतमा उल्लेख्य बचत गर्ने अपेक्षा गरिएको छ। ठेक्का सम्झौतापछि सुरुङमार्गभित्रका सबै उपकरणको सञ्चालन, सुरक्षा र मर्मतसम्भारको जिम्मेवारी पूर्ण रूपमा ठेकेदार कम्पनीले सम्हाल्नेछ।
यो सुरुङमार्ग सञ्चालनमा आउँदा पूर्वाधार सुधार र यातायात प्रणालीमा सुधारका साथै यातायात सुरक्षा र व्यवस्थापनमा पनि ठूलो सुधार हुने अपेक्षा गरिएको छ।
