काठमाडौँ – अमेरिका र इरान बीच सम्भावित शान्ति वार्ता आयोजना गर्ने पाकिस्तान को पहललाई अन्तर्राष्ट्रिय समर्थन बढ्दै गएको छ। मध्यपूर्वमा बढ्दो सैन्य तनाव र द्वन्द्वका बीच पाकिस्तानले अघि सारेको कूटनीतिक प्रयासलाई विभिन्न प्रभावशाली देशहरूले सकारात्मक रूपमा लिएका छन्।
इस्लामावाद मा आयोजित उच्चस्तरीय भेटघाटमा साउदी अरब, टर्की र इजिप्ट का विदेशमन्त्रीहरूले पाकिस्तानको पहलप्रति पूर्ण समर्थन व्यक्त गरेका छन्। बैठकमा टर्कीका विदेशमन्त्री हाकान फिदान, इजिप्टका बद्र अब्देलट्टी तथा साउदी अरबका फैसल बिन फरहान सहभागी थिए।
पाकिस्तानका उपप्रधान एवं विदेशमन्त्री मोहम्मद इशाक डार ले बैठकपछि जारी सन्देशमा वार्ता र कूटनीति नै दिगो शान्ति प्राप्त गर्ने सबैभन्दा प्रभावकारी उपाय भएकोमा सहभागी राष्ट्रहरू एकमत रहेको बताएका छन्। उनले मध्यपूर्वमा थप सैन्य टकराव रोक्न तत्काल पहल आवश्यक रहेकोमा पनि जोड दिएका छन्।
डारले भ्रमणमा आएका विदेशमन्त्रीहरूलाई अमेरिका–इरानबीच हुनसक्ने सम्भावित वार्ताको अवस्था र सम्भावनाबारे विस्तृत जानकारी गराएका थिए। क्षेत्रीय स्थायित्व कायम गर्न र द्वन्द्वको समाधान खोज्न पाकिस्तानले सक्रिय कूटनीतिक भूमिका खेलिरहेको उनको भनाइ छ।
यसैबीच, पाकिस्तानसहित चार देशका विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित एक संयुक्त समिति गठन गर्ने निर्णय पनि गरिएको छ। उक्त समितिले वार्ता प्रक्रिया अगाडि बढाउने, समन्वय विस्तार गर्ने र आवश्यक कूटनीतिक पहलहरूलाई गति दिने काम गर्नेछ।
बैठक मुख्यतः मध्यपूर्वमा विकसित भइरहेका पछिल्ला घटनाक्रम, बढ्दो तनाव न्यूनीकरण, सम्भावित युद्ध विस्तार रोक्ने उपाय र दीर्घकालीन शान्ति स्थापनाका विकल्पहरूमा केन्द्रित थियो। सहभागी राष्ट्रहरूले क्षेत्रीय स्थायित्वका लागि बहुपक्षीय सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।
हाल अमेरिका–इरान सम्बन्ध तनावपूर्ण अवस्थामा रहेकाले यसबीच तेस्रो पक्षको मध्यस्थतामा वार्ता हुन सकेमा क्षेत्रीय सुरक्षा सन्तुलनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। पाकिस्तानको पहललाई यसै सन्दर्भमा महत्वपूर्ण कूटनीतिक प्रयासका रूपमा हेरिएको छ।
