काठमाडौं – नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीभित्र सक्रियता बढाउँदै विभिन्न भेला तथा बैठक गर्ने तयारी गरेको छ।
देउवा पक्षले राष्ट्रिय सभा र प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिने, १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बसाल्ने तथा जिल्ला सभापतिहरूको भेला आयोजना गर्ने योजना बनाएको हो।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन। उक्त महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। निर्वाचन आयोग ले विशेष महाधिवेशनलाई मान्यता दिएपछि त्यसको विरोधमा देउवा पक्षले सर्वोच्च अदालत मा मुद्दा दायर गरेको छ, जुन हाल विचाराधीन छ।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक अवस्था, पार्टीका नेताहरू पक्राउ परेको विषय तथा भावी रणनीतिबारे छलफल गर्न देउवा पक्षले क्रमिक रूपमा बैठकहरू राख्ने तयारी गरेको नेताहरूले बताएका छन्।
देउवा हाल उपचारका लागि विदेशमा रहेका छन्। उनले गत असोज २८ गते तत्कालीन उपसभापति पूर्णबहादुर खड्का लाई कार्यवाहक जिम्मेवारी दिएका थिए। देउवा अनुपस्थित रहेकै अवस्थामा खड्काले विभिन्न छलफल तथा बैठकहरू अगाडि बढाइरहेका छन्।
देउवा पक्षले आज नवनिर्वाचित सांसदहरूलाई बधाई दिने कार्यक्रम राखेको छ। कांग्रेसबाट प्रतिनिधि सभामा ३८ जना सांसद निर्वाचित भएका छन् भने राष्ट्रिय सभामा पनि हालै ९ जना निर्वाचित भएका छन्।
यसैगरी, १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक मंगलबार र बुधबार राख्ने तयारी गरिएको छ भने चैत १९ गते जिल्ला सभापतिहरूको भेला गर्ने योजना रहेको छ।
यता संस्थापन पक्षले भने खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको भन्दै असन्तुष्टि जनाएको छ। थप विज्ञप्ति जारी गरे क्रियाशील सदस्यता नवीकरण नगर्ने चेतावनी समेत दिएको स्रोतको भनाइ छ।
खड्काले शनिबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि विज्ञप्ति जारी गरेका थिए। यद्यपि पूर्वऊर्जा मन्त्री दीपक खड्का पक्राउ परेका विषयमा भने उनले प्रतिक्रिया दिएका थिएनन्।
कांग्रेसभित्र अहिले संस्थापन र संस्थापनइतर पक्षबीच समानान्तर गतिविधि बढ्दै गएको देखिएको छ। केही नेताहरूले १४ औँ र विशेष महाधिवेशनबाट आएका संरचनालाई समायोजन गरी १५ औँ महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने धारणा राखिरहेका छन्।
कांग्रेसले आगामी असोजमा १५ औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको भए पनि सर्वोच्च अदालतमा मुद्दा टुंगो नलागेसम्म नियमित महाधिवेशनमा जान कठिन हुने संस्थापनइतर पक्षको भनाइ छ।
