काठमाडौँ – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का लाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। विभागका एक अधिकृतले जानकारी दिएका छन्।
विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकमा हिरासतमा राखेको थियो। गएराति साढे १२ बजे अचानक बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई प्रारम्भमा नर्भिक अस्पतालमा लगिएको थियो। तर निरन्तर बान्ता भइरहेपछि नर्भिक अस्पतालले उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो।
हाल शिक्षण अस्पतालमा भर्ना गरिएको खड्काको उपचार जारी रहेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।
