काठमाडौं – नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ आजदेखि स्थापनाको ७१ औँ वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसको अवसरमा महासंघले राजधानीमा प्रभातफेरी आयोजना गरेको थियो।
महासंघकी अध्यक्ष निर्मला शर्मा ले देशभरका सञ्चारकर्मी र प्रेस स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना दिँदै महासंघले सात दशकदेखि नागरिकको अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि निरन्तर काम गर्दै आएको बताएकी छन्। अध्यक्ष शर्माले स्थापनाकालदेखि नेतृत्व दिने अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै प्रेस स्वतन्त्रताको लडाइँमा शहीद भएका पत्रकारहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्। उनले मानव अधिकारको रक्षा, सूचनाको हकको संरक्षण र जिम्मेवार पत्रकारितामार्फत लोकतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राखिएको उल्लेख गरिन्।
सूचना प्रविधिको विकाससँगै बढेको मिथ्या सूचनालाई पत्रकारिताका लागि मुख्य चुनौतीको रूपमा लिँदै महासंघले प्रतिनिधिसभा निर्वाचनपछि बनेको दुई तिहाइ सरकारसँग रोकिएका सञ्चार सम्बन्धी कानुनहरू छलफलमा ल्याउन माग गरेको छ। साथै, ‘जेन्जी’ आन्दोलनका क्रममा मारमा परेका सञ्चार गृह र घाइते पत्रकारहरूलाई उचित क्षतिपूर्ति दिलाउन पनि सरकारसँग आग्रह गरिएको छ।
महासंघले प्रेस स्वतन्त्रता संकुचन प्रयासको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। साथै, सबै सञ्चारमाध्यम र श्रमजीवी पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने पहल अघि बढाइरहेको र पत्रकारहरूको भौतिक तथा पेसागत सुरक्षाका लागि अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय थप बलियो बनाउने प्रतिबद्धता जनाएको छ। अध्यक्ष शर्माले जनताको सही सूचना पाउने अधिकार सुनिश्चित गर्न र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबै पत्रकारहरूलाई अपिल गरेकी छन्।
