अमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग छिट्टै समझदारी हुन सक्ने बताएका छन्। तर उनले चेतावनी दिएका छन् कि यदि प्रस्ताव अस्वीकार गरियो भने इरानको अस्तित्व नै संकटमा पर्न सक्छ।
एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले वार्ता सकारात्मक ढंगले अघि बढिरहेको र समझदारीको सम्भावना रहेको बताएका छन्। तर उनले भने, इरानसँग अन्तिम निर्णय के हुन्छ भन्नेबारे अहिले नै निश्चित भन्न गाह्रो छ।
ट्रम्पका अनुसार इरानले संकेतस्वरूप २० वटा ठूला तेल ट्यांकरलाई होर्मुज जलडमरूमार्ग हुँदै आवतजावत गर्न अनुमति दिएको छ। ती जहाजहरू सोमबारदेखि सञ्चालनमा आउने र आगामी दिनमा पनि जारी रहने उनले दाबी गरेका छन्।
यसैबीच, ट्रम्पले इरानको मुख्य तेल निर्यात केन्द्र खार्ग टापु कब्जा गर्ने विकल्पबारे पनि विचार भइरहेको बताए। फारसको खाडीको उत्तरी भागमा रहेको खार्ग टापु इरानको करिब ९० प्रतिशत तेल निर्यातको केन्द्र हो र अर्थतन्त्रका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ।
अमेरिकी अधिकारीहरूले भनेका छन् कि यदि उक्त टापु नियन्त्रणमा लिइएमा इरानको सैन्य संरचनाको आर्थिक आधार कमजोर हुन सक्छ र युद्ध समाप्ततर्फ जान सहज हुन सक्छ।
इरानले सम्भावित आक्रमणको तयारी स्वरूप खार्ग टापुमा सुरक्षा कडा बनाएको छ र थप सैनिक तथा हवाई रक्षा प्रणाली तैनाथ गरिएको जनाइएको छ।
ट्रम्पले दाबी गरेका छन् कि इरानले युद्ध अन्त्यका लागि राखिएका १५ बुँदे मागमध्ये अधिकांश स्वीकार गरिसकेको छ र ती प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म पुगेको थियो। तर गत साता इरानले तत्काल स्वीकार नगरेको र अमेरिकी अडानप्रति शंका व्यक्त गरेको बताइएको छ।
इरानका विदेश मन्त्री अब्बास अराघची ले मध्यस्थमार्फत वार्ता भइरहेको स्वीकार गर्दै पनि अमेरिकी प्रस्तावप्रति शंका राखेको उल्लेख गरेका छन्।
