भद्रपुरस्थित मेची रंगशालामा चन्द्रगढी महिला गोल्डकप प्रतियोगिता आगामी वैशाख ५ देखि १४ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रतियोगिता चन्द्रगढी युवा क्लबको आयोजनामा हुने भएको छ। क्लबका अध्यक्ष रोहित सुब्बाका अनुसार प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ। सहभागी टोलीमा नेपालका तीन विभागीय टोली – एपिएफ फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब रहेका छन्।
त्यस्तै, ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, सङ्कटा फुटबल क्लब र आयोजक क्लबको एक टोली पनि प्रतियोगितामा सहभागी हुनेछ। भारत र भुटानबाट एक–एक टोलीले पनि भाग लिने निर्णय भएको छ।
प्रतियोगितामा नेपाली टोलीले एक टिममा चार जना विदेशी खेलाडी दर्ता गर्न सक्नेछन् र खेल मैदानमा एकै समयमा तीन जना विदेशी खेलाडी मात्रै खेलाउन पाइने नियम लागू हुनेछ।
प्रतियोगिताका ‘प्लेयर अफ द म्याच’ ले नगद ११ हजार रुपैयाँ र ट्रफी पाउनेछन् भने ‘सर्वोत्कृष्ट खेलाडी’ले ५० हजार रुपैयाँ पाउनेछन्। विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
आयोजक क्लबले प्रतियोगिताको उद्देश्य महिला फुटबललाई जिल्लामा प्रवर्द्धन गर्नु र भविष्यमा उत्कृष्ट खेलाडी तयार पारेर राष्ट्रिय स्तरमा प्रतिनिधित्व गराउने रहेको बताएको छ।
