इलाम – सूर्योदय नगरपालिकामा विद्यार्थीलाई कामको संसार र रोजगारीका अवसरबारे जानकारी गराउने नयाँ कार्यक्रम सुरु गरिएको छ।
कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालका अनुसार कार्यक्रमको उद्देश्य विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र सम्भावनाअनुसार पेसा वा व्यवसाय छनोट गर्न प्रेरित गर्नु र व्यावहारिक ज्ञान प्रदान गर्नु हो। साथै, यसले विद्यार्थीमा कामप्रतिको सम्मानको भावना विकास गर्ने र भविष्यमा रोजगारीका लागि आवश्यक सीप र ज्ञान उपलब्ध गराउने लक्ष्य राखेको छ।
नगरपालिकाभित्रका आठ विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई सहभागी गराइएको छ। सहभागी विद्यालयहरूमा बौद्धधाम, कृष्णाश्रम, सिंहदेवी, फिक्कल, कर्फोक, जनक, सरस्वती र ज्योति मावि रहेका छन्।
कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले उद्योग तथा व्यवसायको भ्रमण गर्ने, स्थानीय व्यवसायी तथा विज्ञहरूसँग अन्तरक्रिया गर्ने, प्रेरणादायी अनुभव आदानप्रदान गर्ने, बायोडाटा लेखन, अन्तर्वार्ता तयारी, प्रभावकारी सञ्चार सीप र उद्यमशीलता विकाससम्बन्धी गतिविधिमा सहभागी हुने अवसर पाउनेछन्। सामाजिक विकास समिति संयोजक डिकबहादुर बम्जनका अनुसार यसबाट विद्यार्थीले सैद्धान्तिक शिक्षा मात्र नभई व्यावहारिक अनुभव पनि प्राप्त गर्नेछन्।
कर्फोक क्याम्पसका प्रमुख गोपाल कट्टेलले विद्यालयस्तरमै विद्यार्थीलाई वास्तविक कामको संसारसँग परिचित गराउने यो कार्यक्रमले उनीहरूको सोच, दृष्टिकोण र भविष्यप्रतिको तयारीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रम दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको छ।
सूर्योदय नगरपालिकामा हाल ६६ वटा विद्यालय सञ्चालनमा छन्, जसमा सामुदायिक, गुरुकुल र गुम्बा विद्यालयहरू समावेश छन्। त्यसमध्ये ३१ संस्थागत र गुठीबाट सञ्चालित एक विद्यालय पनि रहेको नगरपालिकाले जनाएको छ।
