कुवेत सिटी – अमेरिका–इजरायल र इरान बीच जारी युद्धको असर छिमेकी मुलुक कुवेत सम्म पुगेको छ। सोमबार इरानले कुवेतको एक विद्युत तथा पानी शुद्धीकरण प्लान्टमा आक्रमण गरेको छ।
कुवेत विद्युत् मन्त्रालय का अनुसार आक्रमणमा एक भारतीय कामदारको मृत्यु भएको छ भने प्लान्टको सेवा भवनमा ठूलो भौतिक क्षति पुगेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पूर्वाधारमा गम्भीर असर पुगेको र स्थिति नियन्त्रणमा लिन आपत्कालीन प्राविधिक टोली परिचालन गरिएको जनाइएको छ।
इरानले यसबारे आधिकारिक प्रतिक्रिया नदिएको भए पनि स्थानीय सरकारी सञ्चार माध्यमहरूले प्लान्टमा व्यापक क्षति भएको समाचार प्रकाशित गरेका छन्। कुवेतले एक महिनाअघि सुरु भएको युद्धका कारण निरन्तर यस्ता आक्रमणको सामना गर्दै आएको छ।
यसअघि आइतबार साँझ मात्रै कुवेती आकाशमा १४ वटा मिसाइल र १२ वटा ड्रोन देखिएका थिए। तीमध्ये केही ड्रोनले सैन्य क्याम्पलाई निशाना बनाउँदा १० जना सैनिक घाइते भएका थिए।
यस घटनाले मध्यपूर्वमा बढ्दो द्वन्द्व र त्यसको क्षेत्रीय असरलाई स्पष्ट पार्दछ, जसले कुवेतका पूर्वाधार र सुरक्षा व्यवस्थामा थप चुनौती सिर्जना गरेको छ।
