कास्कीको लेकसाइड क्षेत्रमा सञ्चालित स्पा तथा ब्युटी पार्लरहरूले मापदण्ड विपरीत बालबालिकालाई काममा लगाएको पाइएको छ। उमेर नपुगेका बालिकालाई कामदारका रूपमा प्रयोग गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले अनुगमन गर्दा यो तथ्य फेला परेको हो।
चैत ११ गते साँझ विभिन्न स्पामा छापा मार्दा प्रहरीले ८ जना सञ्चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा उदयपुरका होम बहादुर बुढाथोकी, पोखराका जेनिसा श्रेष्ठ सुनार, चितवनकी सर्मिला परियार, स्याङ्जाका सुरेश वि.क., गोरखाका जिवन श्रेष्ठ, रुपन्देहीकी अप्रिना खातुन, मकवानपुरका राजु थापा मगर र पोखराकै सरोज सुनार रहेका छन्।
प्रहरीले उद्धार गरिएका नाबालिगहरूलाई सुरक्षा समूहमा राखेको छ भने उमेर पुगेका अन्य कामदारलाई आफन्तको जिम्मा लगाइएको छ। पक्राउ परेका सञ्चालकविरुद्ध बालबालिकाविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको छ र थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत ले जानकारी दिएका छन्।
