काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धनकुटाका तत्कालीन कार्यालय प्रमुख सुरेश थपलियासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार साविक तांखुवा गाविस–९ स्थित कित्ता नम्बर ३८२, ३८३, ३८४ र ३८५ का सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको आरोप लागेको हो।
आयोगका अनुसार सुरेश थपलियासहित छुट जग्गा दर्ता समितिका सदस्य तथा तत्कालीन शाखा अधिकृत टंकप्रसाद दुवाडी, नापी कार्यालय धनकुटाका तत्कालीन सर्भेक्षक राजेन्द्रप्रसाद यादव र मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा छविलाल फुयलविरुद्ध ६७ लाख ६८ हजार रुपैयाँ बिगो कायम गरिएको छ।
त्यसैगरी साविक तांखुवा गाविसका तत्कालीन सचिव भक्तबहादुर भट्टराई र जग्गाधनी माधवबहादुर भट्टराईविरुद्ध ७७ लाख ६८ हजार रुपैयाँ बिगोसहित मुद्दा दायर गरिएको छ।
यस प्रकरणमा हालका जग्गाधनीहरू खगेन्द्रबहादुर थापा, हिमादेवी बस्नेत, त्रानकुमारी मगर, मित्रबहादुर मगर, अम्बरबहादुर मगर, पदमबहादुर सिजाली, निर्मला घिमिरे, इन्द्रबहादुर मगर र स्वर्गीय पूर्णबहादुर थापाको हक सकार गर्ने गजेन्द्र थापाविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो असुलसहित कैद र जरिवानाको मागदाबी गरेको छ। साथै केही प्रतिवादीविरुद्ध थप कानुनी प्रावधानअनुसार सजाय माग गर्दै आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ।
