विराटनगर – कोशी प्रदेश सभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समिति’को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ। उक्त प्रतिवेदन समितिका सभापति रामदेव यादवले प्रस्तुत गरेका हुन्।
बैठकको शून्य र विशेष समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जेन्जी आन्दोलनका कारण प्रदेश सरकारअन्तर्गतका संरचनामा करिब ७६ करोड ९५ लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका छन्।
उनले गत असोज १८ गते आएको बाढी र पहिरोबाट इलाम र ताप्लेजुङमा भएको क्षतिको पुनर्निर्माणका लागि स्थापना गरिएको पुनर्निर्माण कोषमा १५ करोड रुपैयाँ जम्मा भएको पनि बताए।
उक्त कोषमा रहेको रकमबाट चालु वर्ष मनसुनजन्य विपत्ति न्यूनीकरणका लागि पूर्वाधार निर्माणमा लगानी गरिने जानकारी मन्त्री पराजुलीले दिएका छन्।
प्रदेशसभाको अर्को बैठक आगामी चैत १७ गते दिउँसो १ बजे बस्ने तय गरिएको छ।
