चितवन – भरतपुर–३, बाह्रघरेचोकस्थित मुनलाइट इङलिस स्कुलका दुई विद्यार्थी नारायणी नदीमा डुबेर ज्यान गुमाएका छन्।
मुनलाइट बोडिङ स्कुलमा कक्षा ७ मा पढ्ने भरतपुर–१६ शरणपुरका १४ वर्षीय सनम रम्तेल र सहपाठी १४ वर्षीय प्रशान्त क्षेत्रीको पौडी खेल्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।
उनीहरू परीक्षा दिन विद्यालय पुगेका थिए, तर परीक्षा सुरु हुनुअघि नदीमा पौडी खेल्न गएको क्रममा नदीको भङगालोमा डुबेका थिए।
नदीमा बेपत्ता भएका उनीहरूलाई खोजी गर्दा डुबेको अवस्थामा फेला पारिएको थियो। उद्धारपछि तत्काल भरतपुर अस्पताल लगिएको भए पनि उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।
विद्यालय र नदीबीचको दूरी करिब ८ सय मिटर मात्र रहेको छ। प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
