काठमाडौँ – भूटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि लामो समयदेखि अभियान चलाइरहेको संस्था भुटानका राजबन्दी रिहाइका लागि विश्व अभियान (GCRPPB) ले नेपालका नवनियुक्त प्रधानमन्त्री वालेन्द्र साह (बालेन) लाई बधाई दिएको छ।
संस्थाले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री साहको नियुक्तिलाई ऐतिहासिक उपलब्धि भन्दै उनलाई सुशासन, पारदर्शिता र रूपान्तरणकारी नेतृत्वको प्रतीकका रूपमा हेरिएको उल्लेख गरिएको छ। GCRPPB का ग्लोबल कोअर्डिनेटर राम कार्कीले विज्ञप्तिमा यो नेपालका लागि महत्वपूर्ण घडी भएको भन्दै दशकौँदेखि नेपालमा रहेका भूटानी शरणार्थीहरूको मानवीय समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा भनिएको छ कि नेपाली मूलका हजारौँ भुटानी शरणार्थीहरू लामो समयदेखि अनिश्चिततामा जीवनयापन गरिरहेका छन् र धेरैजना अझै दीगो र सम्मानजनक समाधानको प्रतीक्षामा छन्। अन्तर्राष्ट्रिय पुनर्वास कार्यक्रमले केही राहत दिएको भए पनि उल्लेख्य संख्यामा शरणार्थीहरूले अझै अधिकार, अवसर र सुरक्षासम्बन्धी चुनौती भोगिरहेका छन्।
प्रधानमन्त्री साहको नियुक्तिपूर्वका हप्ताहरूमा GCRPPB ले समस्याको न्यायोचित र दीगो समाधानका लागि आफ्ना मुख्य मागहरू पेस गरेको थियो। संस्थाले अहिले पनि पूर्वी नेपालका शरणार्थी शिविरहरूमा रहेका करिब ६,५०० भुटानी शरणार्थीहरूका लागि स्वेच्छिक स्वदेश फिर्ती, स्थानीय समायोजन वा तेस्रो मुलुकमा पुनर्स्थापनाका लागि स्पष्ट र पारदर्शी विकल्प सुनिश्चित गर्न माग गरेको छ।
