पश्चिम एसियामा जारी पछिल्लो युद्धका क्रममा यमनस्थित हुथी समूहको गतिविधि बढेसँगै क्षेत्रीय तेल आपूर्ति र अन्तर्राष्ट्रिय समुद्री ढुवानीमा थप जोखिम उत्पन्न हुने चेतावनी व्यक्त गरिएको छ। पहिले नै स्ट्रेट अफ हर्मुज करिब एक महिनादेखि अवरुद्ध छ।
अब हुथीहरूले अर्को महत्त्वपूर्ण समुद्री मार्ग बाब अल–मन्दब स्ट्रेटलाई पनि निशाना बनाउन सक्ने संकेत देखाइएको छ। यो स्ट्रेटले लालसागर र हिन्द महासागरलाई जोड्छ। ‘गेट अफ टियर्स’ भनेर परिचित बाब अल–मन्दाब स्ट्रेटको यात्रा चुनौतीपूर्ण मानिन्छ। यसको सबैभन्दा साँघुरो भाग करिब २९ किलोमिटर चौडा छ।
अमेरिकी ऊर्जा सूचना प्रशासन (EIA) का अनुसार सन् २०२३ का पहिलो ११ महिनामा मात्रै यस मार्गबाट ३ करोड टनभन्दा बढी प्राकृतिक ग्यास ढुवानी भएको थियो। विश्वको करिब १२ प्रतिशत समुद्री तेल कारोबार यही मार्गमार्फत भएको थियो।
यसअघि हुथीहरूले लाल सागरमा १०० भन्दा बढी व्यापारिक जहाजमाथि आक्रमण गरिसकेका थिए। इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेपछि यी आक्रमणहरू तीव्र बनेका थिए। गत नोभेम्बरमा अस्थायी रूपमा आक्रमण रोकिएको घोषणा भए पनि, यस्ता घटनाले धेरै जहाजलाई केप अफ गुड होप भएर लामो मार्ग प्रयोग गर्न बाध्य पारेको थियो, जसले समय र ढुवानी लागत दुवै बढाएको थियो।
हुथी सूचना मन्त्रालयका अधिकारीका अनुसार बाब अल–मन्दाब स्ट्रेटमा आवागमन अवरुद्ध गर्नु सम्भव विकल्प हुन सक्छ। अमेरिकाले स्ट्रेट अफ हर्मुज पुनः खोल्ने प्रयास गरे थप तनाव उत्पन्न हुने चेतावनी पनि इरानी स्रोतहरूले दिएका छन्।
यसबिच, साउदी अरबले आफ्नो तेल निर्यात पश्चिमी तटस्थित यान्बु बन्दरगाहमार्फत पाइपलाइनमार्फत पुनः मार्ग निर्धारण गर्न थालेको छ। उक्त पाइपलाइनको दैनिक क्षमता ७ मिलियन ब्यारेलसम्म रहेको छ। यसको प्रभाव स्वरूप लालसागर क्षेत्रमा ट्यांकरको आवागमन बढेको देखिएको छ।
