काठमाडौं । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली स्वास्थ्य अवस्थाका कारण अदालतमा प्रत्यक्ष उपस्थित हुन नसक्ने भएपछि प्रहरीले ‘भर्चुअल’ माध्यमबाट बयान लिएर म्याद थप गर्न माग गरेको छ।
पक्राउपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएका ओलीको उपचारमा संलग्न चिकित्सकहरूले हालको स्वास्थ्य अवस्थाका कारण उनलाई बाहिर ल्याउन नमिल्ने सुझाव दिएका छन्। सोही आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंमा भर्चुअल उपस्थितिको अनुमति माग गरेको हो।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखकको म्याद थपसम्बन्धी आदेश हुने बताइएको छ। लेखकलाई भने आइतबार बिहान १० बजेपछि अदालतमा उपस्थित गराइसकिएको छ।
प्रहरीका अनुसार लेखकलाई महाराजगञ्जस्थित २ नम्बर गणमा राखिएको छ।
यदि अदालतले प्रहरीको माग स्वीकार गरेमा ओलीसँग भर्चुअल माध्यमबाटै बयान लिएर म्याद थपबारे निर्णय गरिनेछ।
