महोत्तरी । महोत्तरीस्थित प्रसिद्ध रौजा मजार सरिफ मा प्रत्येक वर्षझैँ यस वर्ष पनि उर्स (धार्मिक मेला) सुरु भएको छ। ‘नेपालको अजमेर सरिफ’ भनेर चिनिने यस मजारमा सुरु भएको उर्स १७ गते साँझसम्म सञ्चालन हुने र रौजा मजार विकास समितिका अध्यक्ष सलिम राइन ले जानकारी दिएका छन्।
यस उर्समा नेपालसहित छिमेकी भारत बाट लाखौँ श्रद्धालु (जाइरिन) सहभागी भएका छन्। बाबा गदाअली शाह, बाहार अली शाह र रहम अली शाहको सम्झनामा फतिहा, नियाज तथा विभिन्न धार्मिक गतिविधि सञ्चालन भइरहेका छन् भने रातिको समयमा जलसा (धार्मिक प्रवचन) पनि हुँदै आएको छ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम बाट करिब १२ किलोमिटर पश्चिममा रहेको यस मजारमा आयोजित उद्घाटन समारोहमा जनता समाजवादी पार्टीका प्रदेश सांसद जयनुल राईन प्रमुख अतिथि रहेका थिए। उनले मजारमा चादर चढाउँदै यसलाई व्यवस्थित धार्मिक स्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
उनले मजारको विकासले मधेश प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै खानेपानी, शौचालय र धर्मशाला निर्माणका कार्य अघि बढाउन प्रदेश सरकारसँग माग गरेका छन्। साथै, अजमेर शरीफ दरगाह जस्तै धार्मिक महत्त्व बोकेको यस स्थललाई नेपालकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए।
उर्सलाई अझ आकर्षक बनाउन नेपाल र भारतका प्रसिद्ध धार्मिक गुरुहरूलाई प्रवचनका लागि आमन्त्रण गरिएको समितिले जनाएको छ। सहभागी श्रद्धालुहरूको सुविधाका लागि खानेपानी, आवास तथा स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न शिविर सञ्चालन गरिएको सहसचिव अली हुसेन नदाफ ले बताए।
सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा करिब एक हजार स्वयंसेवक परिचालन गरिएको छ। उर्सको तेस्रो दिन मंगलबार दिउँसो २ बजे वरिष्ठ धार्मिक गुरुबाट ‘चारपोसी’ कार्यक्रम आयोजना गरिने कार्यक्रम तालिकामा उल्लेख छ।
