काठमाडौँ । मुलुकमा विकसित पछिल्लो राजनीतिक अस्थिरता र घटनाक्रमको प्रत्यक्ष प्रभाव पुँजी बजारमा देखिएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा ठुलो गिरावट आएपछि लगानीकर्ताहरूमा चिन्ता बढेको छ। कारोबार सुरु भएको करिब एक घण्टामै परिसूचक ४२.२७ अंकले घटेर २९०७.८९ विन्दुमा झरेको हो। बजार खुलेको केही समयमै ओरालो लागेको सूचक दिनभर नै दबाबमा रह्यो, जसले बजारमा नकारात्मक मनोविज्ञान हाबी भएको संकेत गरेको छ।
आज कुल ३१३ कम्पनीको शेयर कारोबार हुँदा २५५ कम्पनीको शेयर मूल्य घटेको छ भने केवल ९ कम्पनीको मूल्यमा वृद्धि देखिएको छ। दुई कम्पनीको मूल्य भने स्थिर रहेको छ। यसले बजारमा व्यापक रूपमा बिक्री दबाब रहेको देखाउँछ।
विश्लेषकहरूका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, विशेषगरी नयाँ सरकार गठनसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को गिरफ्तारी तथा सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्ययोजनामा २०४६ पछि सार्वजनिक पद धारण गरेका उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने निर्णयले लगानीकर्तामा अनिश्चितता र त्रास सिर्जना गरेको छ।
राजनीतिक अस्थिरता, नीतिगत अनिश्चितता र सम्भावित आर्थिक प्रभावका कारण लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन्। यसले बजारमा खरिदभन्दा बिक्रीको दबाब बढाएको छ। बजारको आगामी दिशा भने राजनीतिक स्थायित्व, नीतिगत स्पष्टता र सरकारको आर्थिक सुधारका कदममा निर्भर रहने विश्लेषण गरिएको छ।
