धनगढी । कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतीमा प्रमाण लुकाएर अपराधीलाई जोगाउने गम्भीर घटनामा संलग्न प्रहरीमाथि प्रदेश प्रहरी कार्यालयले कारबाही गरेको छ। वन्यजन्तुको अङ्ग र अवैध हतियारसहित पक्राउ परेका अभियुक्तको मुद्दा कमजोर बनाउन प्रमाण लुकाइएको पुष्टि भएपछि १३ जना प्रहरी कर्मचारीमाथि विभागीय ‘एक्सन’ लिइएको हो।
घटना गत साउन ९ गते मध्यरातको हो, जब गोदावरी नगरपालिका–८ मा प्रहरी टोलीले चन्द्रबहादुर चौधरी र राजकुमार चौधरीलाई भरुवा बन्दुक, चित्तलको जस्तो देखिने सिङ र खुरसहित पक्राउ गरेको थियो। तर, कानुनी कारबाहीको क्रममा तयार पारिएको मुचुल्कामा वन्यजन्तुको अङ्गबारे उल्लेख नगरी केवल हतियार मात्र देखाइएको थियो, जसका कारण उनीहरूविरुद्ध वन्यजन्तु सम्बन्धी मुद्दा नचलाई हातहतियारसम्बन्धी मुद्दामात्र दर्ता गरिएको थियो।
यो विषय केही समय गोप्य रहे पनि पछि प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको थियो। प्रारम्भिक छानबिनमा कार्यालय प्रमुख डीएसपी रणबहादुर चन्दले आफ्ना कर्मचारीको बचाउ गर्दै कुनै कमजोरी नभएको प्रतिवेदन दिएका थिए। तर पुनः उजुरी परेपछि डीएसपी निशान्त श्रीवास्तवको नेतृत्वमा नयाँ छानबिन समिति गठन गरिएको थियो।
नयाँ टोलीले गरेको खानतलासीका क्रममा मुचुल्कामा उल्लेख नगरिएका सिङ र खुर कार्यालयकै दराजमा लुकाएर राखिएको अवस्थामा फेला परेपछि घटना पुष्टि भएको थियो। छानबिन प्रतिवेदनका आधारमा डीएसपी रणबहादुर चन्द, इन्स्पेक्टर दानसिंह भण्डारी र वरिष्ठ सई दीपेन्द्र भट्टलाई अभिलेखमा जनिने गरी नसिहत दिइएको छ भने अन्य १० जना प्रहरीलाई पनि रेकर्डमा रहने गरी सचेत गराइएको छ।
प्रहरी नियमावली २०७१ अनुसार यस्तो कारबाहीले सम्बन्धित कर्मचारीको भविष्यमा पदोन्नति तथा अन्य अवसरमा असर पार्नेछ। यस घटनाले प्रहरी संगठनभित्रको आन्तरिक जवाफदेहिता, पारदर्शिता र अनुशासनको विषयलाई पुनः चर्चामा ल्याएको छ।
