काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको छ। सम्पत्ति शुद्धीकरण विभागले देउवासहित उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजू राणा देउवा र उनको परिवारमाथि छानबिन अघि बढाएको हो।
विभागले अनुसन्धानका क्रममा आवश्यक प्रमाण नष्ट हुन सक्ने आशंकामा देउवाको बुढानीलकण्ठस्थित घर भत्काउने कार्यमा रोक लगाएको जनाएको छ। जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको उक्त घर केही दिनअघि पुनर्निर्माणका लागि भन्दै भत्काउन सुरु गरिएको थियो।
अनुसन्धान प्रक्रियाअन्तर्गत सम्पत्ति विवरण, स्रोत र सम्भावित अनियमितताबारे विस्तृत छानबिन गरिने जनाइएको छ। यस घटनाले देशको राजनीतिक वृत्तमा थप हलचल उत्पन्न गरेको छ भने उच्चस्तरीय व्यक्तिमाथि अनुसन्धान सुरु हुनु सुशासन र पारदर्शितासँग जोडिएको महत्त्वपूर्ण विषयका रूपमा हेरिएको छ।
