बाँके । नेपालगन्जमा आगोमा जलेर एक युवतीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक दीपक पातली ले जानकारी दिएका अनुसार मृत्यु हुने युवतीको सनाखत अझै हुन बाँकी छ।
नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिक गएराति करिब १२ बजेतिर करिब २५ वर्षीया युवती आगोले जलेर गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल प्रहरीले भेरी अस्पताल पुर्याएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको पुष्टि भएको छ।
प्रहरीका अनुसार युवती कसरी आगोमा परिन् भन्ने विषय अहिलेसम्म स्पष्ट भएको छैन। घटनास्थल र शव भेरी अस्पतालमै राखिएको छ। थप अनुसन्धान जारी रहेको छ र सम्बन्धित तथ्य अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
