गुल्मी । चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारु ले जानकारी दिए अनुसार मृत्यु हुने व्यक्ति चन्द्रकोट गाउँपालिका–४ का ५५ वर्षीय तुलसी थापा हुन्।
प्रहरीका अनुसार चन्द्रकोटबाट शान्तिपुरतर्फ गइरहेको लु१ज १८३४ नम्बरको सफारी जिपले थापालाई बाटो काट्दै गरेको अवस्थामा रिपाहा भन्ने ठाउँमा शनिबार साँझ ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएकी थापालाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार दिइएको पछि लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पामा पठाइएको थियो।
थापाको उपचारको क्रममा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न जिपका चालक जीवन फौदार सहित सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ र आवश्यक कानुनी कारबाही अघि बढाइएको छ।
