काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई ले सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको स्वास्थ्य र नैतिकतामाथि प्रश्न उठाउँदै नयाँ प्रस्ताव सार्वजनिक गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीदेखि मन्त्री र सांसदहरूसम्मको दैनिक मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) जाँच गरिनुपर्ने माग राखेका छन्। राईले देशको समग्र स्वास्थ्य, सुशासन र सरकारी पारदर्शिताका लागि यस्तो प्रक्रिया अनिवार्य हुनुपर्ने तर्क प्रस्तुत गरेका छन्।
उनले भनेका छन्, "प्रधानमन्त्री लगायत सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे र लापसे नियमित रूपमा जाँच गरिनुपर्दछ। सांसदहरूको पनि जाँच अनिवार्य हुनुपर्छ। यो कदम देशको स्वास्थ्य र सुशासन सुनिश्चित गर्न अत्यावश्यक छ।"
साम्पाङको यो प्रस्तावले उच्च पदस्थ सरकारी व्यक्तिहरूको जवाफदेहिता र पारदर्शिता सुनिश्चित गर्ने उद्देश्य राखेको विश्लेषकहरूले बताएका छन्। यसले सरकारको नेतृत्वमा सार्वजनिक विश्वास बढाउने र स्वास्थ्यसम्बन्धी निगरानी प्रणालीमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
