बारा/मोतिहारी । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल–भारत सीमा क्षेत्रमा ठूलो परिमाणमा कोडिनयुक्त (मनोप्रभावी) लागूऔषध ओनेरेक्स कफ सिरपसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
एसएसबीको ७१ बटालियन मोतिहारी ‘बी’ कम्पनीले छौदादानो थाना सँग संयुक्त रूपमा अपरेसन सञ्चालन गरेको थियो। शनिबार साँझ करिब ७:४५ बजे प्राप्त सूचनाका आधारमा गरिएको यस अपरेसनमा बीआर २२ जीसी ७३८२ नम्बरको टाटा एस गोल्ड सवारीसाधनबाट ओनेरेक्स कफ सिरप बरामद गरिएको एसएसबी मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट बिश्वजित तिवारी ले जानकारी दिनुभयो।
बरामद सामग्री १०० एमएलका ८४० फाइल ओनेरेक्स सिरप रहेको थियो। प्रारम्भिक अनुसन्धानका अनुसार उक्त लागूऔषध भारतबाट नेपालतर्फ तस्करी गर्न खोजिएको अवस्थामा फेला परेको थियो। बरामदगी स्थल सीमा स्तम्भ (आईएनबी) बीपी नम्बर ३७६ नजिकै, बेला गाउँबाट करिब १० किलोमिटर दूरीमा रहेको छ।
घटनामा भारतका जन्मेजय कुमार मिश्र (३५) र नेपालका रमेश प्रसाद (५०) पक्राउ परेका छन्। उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि छौदादानो थानामा बुझाइएको छ।
एसएसबीले उक्त अपरेसनलाई लागूऔषध तस्करी नियन्त्रण र सीमापार अपराध रोक्नका लागि विशेष प्रयासको रूपमा लिएको जनाएको छ। बरामद गरिएको लागूऔषध र पक्राउ परेका व्यक्तिहरूको विस्तृत अनुसन्धान भइरहेको र दोषी पत्ता लागे कानुनी कारबाही अघि बढाइने बताइएको छ।
