काठमाडौँ । १० औँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग वैशाख महिनाको दोस्रो हप्तामा सुरु हुने भएको छ। नेपाल भलिबल सङ्घ (एनभिए) ले शनिबार आयोजित पत्रकार सम्मेलनमा भलिबल लिग वैशाख १० देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन हुने जानकारी दिएको छ।
यस प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ गरी कुल १४ टोलीको सहभागिता रहनेछ। पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपिएफ, खिल्जी युवा क्लब (लुम्बिनी), पश्चिम रुकुम, कोशी प्रदेश र बुढानीलकण्ठ क्लब प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ भने न्यु डायमन्ड, नेपाल प्रहरी, एपिएफ, सुदूरपश्चिम, एभरेस्ट क्लब र त्रिभुवन आर्मी क्लबले खेल्नेछन्।
एनभिएका महासचिव रोशन श्रेष्ठ ले चैत महिनामा आयोजना गर्न भनिएको लिग विविध कारणले सम्पन्न नभएको स्मरण गराउँदै यस पटक ऐतिहासिक रूपमा सबैभन्दा ठुलो नगद पुरस्कार रहेको जानकारी दिनुभयो। उहाँले महिला र पुरुष दुवैतर्फ समान पुरस्कार राखिएको र कुनै भेदभाव नगरी वितरण गरिने पनि स्पष्ट पार्नुभयो। विजेताले १० लाख, उपविजेताले पाँच लाख र तेस्रो हुने टोलीले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार र उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर तथा प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिनेछ। एनभिएका अध्यक्ष जितेन्द्रबहादुर चन्द ले भलिबलको माध्यमबाट खेलाडीहरूलाई सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र समान पुरस्कारले खेलप्रति रुचि बढाउने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगितामा प्रत्येक टिममा बढीमा तीन विदेशी खेलाडी खेल्न सक्ने नियम लागू हुनेछ। विदेशी खेलाडीको सहभागिताका लागि सम्बन्धित टिमले नेपाल सरकारको नियमानुसार श्रम स्वीकृति र अन्य आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था मिलाइएको छ।
प्रतियोगिता प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनमार्फत हुनेछ। काठमाडौँबाहिरका खेलाडीलाई दैनिक १,२०० रुपैयाँ र उपत्यकाभित्रका खेलाडीलाई ३०० रुपैयाँ खाजा खर्च उपलब्ध गराइनेछ। प्रतियोगिता सञ्चालनमा करिब १ करोड १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
एनभिएका पदाधिकारीहरूले यस लिगलाई राष्ट्रिय भलिबलको विकास, व्यावसायिक विस्तार र खेलाडीहरूको क्षमता अभिवृद्धिको अवसरका रूपमा अगाडि बढाइने बताउँदै खेलप्रतिको उत्साह र प्रतिस्पर्धा प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताएका छन्।
