काठमाडौँ । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक लाई प्रहरीले आइतबार (आज) अदालतमा पेस गर्ने तयारी गरेको छ।
शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई त्यसदिन अदालतमा उपस्थित गराउन नसकिएको र आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमार्फत जिल्ला अदालत काठमाडौँमा पेस गरिने प्रहरीले जनाएको छ।
प्रहरीले दुवै नेतालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्ने तयारी गरेको छ। प्रचलित कानुनअनुसार अधिकतम २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था भए पनि त्यसका लागि अदालतको अनुमति आवश्यक हुन्छ।
पक्राउपछि स्वास्थ्य समस्याका कारण ओली अस्पतालमा भर्ना भएका छन् भने लेखकलाई महाराजगन्जस्थित २ नम्बर गणमा राखिएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयनका क्रममा प्रहरीले शनिबार बिहान भक्तपुरबाट दुवै जनालाई पक्राउ गरेको थियो।
उक्त आयोगले आन्दोलनका क्रममा भएको मानवीय क्षतिको कारण लापरबाही र हेलचेक्र्याइँ रहेको निष्कर्ष निकाल्दै तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक तथा नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो।
यस प्रकरणले देशको राजनीतिक तथा कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ भने आगामी अदालती प्रक्रियाले यसको दिशा तय गर्ने अपेक्षा गरिएको छ।
