काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेका नेता–कार्यकर्ता सडकमा उत्रिएपछि काठमाडौँको माइतीघर–बानेश्वर क्षेत्रमा तनाव पैदा भएको छ।
प्रदर्शन नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज गरेपछि केही समय स्थिति थप तनावपूर्ण बनेको थियो। प्रहरीको लाठी प्रहारमा एमाले कार्यकर्ता युवराज ओलीसहित केही नेता–कार्यकर्ता घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।
प्रदर्शनकारीले सिंहदरबारतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ। सुरक्षा अवस्था नियन्त्रणमा लिन माइतीघर, बबरमहल, नयाँ बानेश्वर र सिंहदरबार आसपास ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। मुख्य सडकहरूमा सुरक्षा घेरा कडा पारिएको छ भने सवारी आवागमन आंशिक रूपमा प्रभावित भएको छ।
एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई राजनीतिक प्रतिशोधका रूपमा विरोध प्रदर्शन सुरु गरेको हो। यसअघि गत २३ र २४ भदौमा भएको ‘जेनजेड’ आन्दोलनका क्रममा सरकारद्वारा गरिएको दमनको विषयलाई लिएर पनि एमालेले प्रश्न उठाउँदै आएको थियो।
माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन भइरहेका बेला प्रदर्शनकारीको एक समूह सिंहदरबारको दक्षिण गेटतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोक्न लाठीचार्ज गरेको थियो। त्यसपछि केही समय क्षेत्र तनावग्रस्त बनेको थियो।
