काठमाडौँ — पूर्व अर्थमन्त्री तथा वर्षमान पुन (अनन्त) ले नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूले अघि सारेको अवधारणाअनुसार आर्थिक सुधारका कदम चाल्न थालेको भन्दै धन्यवाद दिएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ का सिफारिस कार्यान्वयन गर्ने वाग्लेको प्रतिबद्धताको खुलेर प्रशंसा गरेका हुन्।
पुनले आफू अर्थमन्त्री हुँदा आर्थिक वर्ष ०८१/०८२ को बजेटमार्फत उच्च आर्थिक वृद्धि हासिल गर्न सम्भाव्य क्षेत्र पहिचान गर्ने, नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अघि बढाउने तथा लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यसहित उक्त आयोग गठनको घोषणा गरेका थिए।
सोहीअनुसार निवर्तमान अर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा आयोग गठन गरिएको थियो। आयोगले लगानी वृद्धि र अर्थतन्त्र सुधारमा अवरोध मानिएका १५ वटा ऐन खारेज गर्न तथा राजश्व अनुसन्धान विभाग खारेज गर्न सुझाव दिएको थियो।
शुक्रबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै वाग्लेले उक्त सुझाव कार्यान्वयन गर्ने निर्णय गरेका छन्।
पुनले आफ्नो भनाइमा भनेका छन् कि आफूले घोषणा गरेको आयोगले तयार पारेको प्रतिवेदनका आधारमा आर्थिक विकासमा अवरोधक बनेका असान्दर्भिक ऐनहरू हटाउने निर्णय स्वागतयोग्य छ। उनले यस कदमका लागि वाग्लेलाई धन्यवाद तथा बधाई दिएका छन्।
साथै, पुनले पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्यका रूपमा मुलुकको आर्थिक विकासका लागि सरकारले गर्ने सकारात्मक प्रयासमा सधैं साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
