श्रीनगर — जोजिला पासमा गएको हिमपहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्।
शुक्रबार दिउँसो जम्मु–काश्मिर र लद्दाखलाई जोड्ने राष्ट्रिय राजमार्गअन्तर्गत जोजिला पासको जिरो पोइन्ट र मिनीमार्गबीच अचानक हिमपहिरो खसेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ।
उच्च हिमाली क्षेत्रमा सवारी साधनहरू सञ्चालन भइरहेका बेला ठूलो मात्रामा हिउँ खस्दा धेरै गाडीहरू पुरिएका थिए। सडकमा गुडिरहेका गाडीहरू हिमपहिरोको चपेटामा पर्दा ठूलो मानवीय क्षति भएको हो।
घटनालगत्तै उद्धार टोली परिचालन गरिएको थियो र हिउँमा फसेकाहरूको खोजी तथा उद्धार कार्य जारी राखिएको छ।
उमर अब्दुल्लाहले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।
यसैगरी, केन्द्रीय मन्त्री जितेन्द्र सिंहले पनि घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारका लागि आवश्यक व्यवस्था गरिएको जानकारी दिएका छन्।
पछिल्लो समय उच्च हिमाली क्षेत्रमा मौसममा आएको परिवर्तन र भारी हिमपातका कारण यस्ता हिमपहिरोका घटना बढ्दै गएका छन्। हाल राजमार्गमा थुप्रिएको हिउँ हटाउने तथा अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
