काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं ले केपी शर्मा ओली र रमेश लेखक जस्ता व्यक्तिहरू पक्राउ पर्नु ठूलो विषय नभएको बताएका छन्। शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले मुख्य चुनौती व्यक्तिको पक्राउ नभई देशको अस्तित्व जोगिने वा नजोगिने भन्ने भएको जिकिर गरे।
पुराना राजनीतिक दलहरूको अहङ्कारका कारण देश संकटतर्फ धकेलिएको आरोप लगाउँदै उनले त्यसलाई रावणको अहङ्कारसँग तुलना गरे, जसका कारण लङ्का नै जलेको उदाहरण दिए। प्रसाईंले पछिल्ला घटनाहरूको निष्पक्ष छानबिन गरी मुख्य योजनाकारहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरे।
उनले विशेषगरी डिस्कर्डजस्ता डिजिटल माध्यम प्रयोग गरेर मानिस परिचालन गर्ने र विद्यालय पोसाकमा बालबालिका प्रयोग गर्ने प्रवृत्तिमाथि तुरुन्त कारबाही गर्नुपर्ने बताए।
यसैबीच, नवनियुक्त प्रधानमन्त्री बालेन शाह लाई बधाई दिँदै प्रसाईंले विगतका नेताहरू प्रचण्ड र केपी शर्मा ओली जस्तै बालेन पनि विद्रोही पृष्ठभूमिबाटै सत्तामा आएको टिप्पणी गरे।
अन्तर्राष्ट्रिय शक्तिहरूलाई चेतावनी दिँदै उनले दलाई लामा सम्बन्धी कुनै गतिविधि नेपालमा स्वीकार्य नहुने बताए। साथै, चीन, अमेरिका र भारत जस्ता देशहरूलाई लक्षित गर्दै नेपालमा त्यस्तो कुनै “खेल” भएमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिए।
