काठमाडौं: जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका दमनकारीलाई संरक्षण गर्ने कुनै पनि प्रयास कतैबाट नगर्न सरकार र सम्बन्धित निकायलाई चेतावनी दिएको छ।
संस्थाले जारी गरेको प्रेस वक्तव्यमा, जेनजी आन्दोलनका क्रममा भएका दमनमा संलग्न तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कानुनी प्रक्रिया अघि बढाइएकोमा स्वागत व्यक्त गरिएको छ।
साथै, उक्त घटनामा संलग्न तत्कालीन गृह प्रशासन र सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत पक्राउ गरी निष्पक्ष छानबिन र कानुनी कारबाही अघि बढाउन माग गरिएको छ।
वक्तव्यमा भनिएको छ, “जेनजी आन्दोलनका दमनकारीलाई बचाउने कुनै पनि प्रकारको षड्यन्त्र कहीं कतैबाट नहोस्। यदि यस्ता प्रयासहरू भएमा देशभरिका युवाहरू थप सशक्त र कठोर संघर्षमा उत्रिन बाध्य हुनेछन्।”
संस्थाले देशमा विधिको शासन कायम राख्दै शान्ति र सुव्यवस्था सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको जोड दिँदै भनिएको छ, “वर्तमान परिस्थितिमा अराजकता अन्त्य गर्दै नागरिकहरूको सुरक्षा र अधिकारको प्रत्याभूति गर्न सरकार अझ संवेदनशील, जिम्मेवार र प्रतिबद्ध बन्नुपर्ने आवश्यकता छ।”
