नेपाल भलिबल संघले आयोजना गर्ने प्रधानमन्त्री एनभिए महिला तथा पुरुष भलिबल लिग आगामी वैशाख १० देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा सञ्चालन हुने भएको छ। संघले वार्षिक कार्यक्रमअनुसार चैतमा आयोजना गर्ने भनिएको लिग विभिन्न कारणले सारेर वैशाखमा सञ्चालन गर्ने निर्णय गरेको हो। प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोली, कुल १४ टोलीको सहभागिता रहनेछ। पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), पश्चिम रुकुम भलिबल टिम, कोशी प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ न्यू डायमन्ड युथ स्पोट्र्स क्लब, नेपाल प्रहरी, एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, एभरेष्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहनेछ।
प्रतियोगितामा महिला र पुरुष दुवै विधामा समान नगद पुरस्कारको व्यवस्था गरिएको छ। विजेताले १० लाख रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी, दुवै विधाका सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार रुपैयाँ र उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ। यस लिगले भलिबल खेलको स्तर सुधार गर्दै युवा खेलाडीहरूलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।
