इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १९औँ संस्करण आज (शनिबार) देखि सुरु हुँदैछ। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र सनराइजर्स हैदराबाद आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेङ्गलुरुमा सुरु हुनेछ।
साविक विजेता आरसीबीले यस सिजन पनि बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको छ भने हैदराबाद जितसहित प्रतियोगिता सुरु गर्ने योजनामा छ।
यस संस्करणमा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। आगामी दुई महिनासम्म सञ्चालन हुने प्रतियोगितामा कुल ७४ खेल खेलिने तालिका रहेको छ।
समूह ‘ए’ मा चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, आरसीबी र पञ्जाब किंग्स रहेका छन्। त्यस्तै समूह ‘बी’ मा मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स छन्।
आईपीएलमा सहभागी १० टोलीमध्ये पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सले हालसम्म उपाधि जित्न सकेका छैनन्।
सन् २००८ देखि सुरु भएको आईपीएल विश्वकै सबैभन्दा धनी र लोकप्रिय फ्रेन्चाइज क्रिकेट लिगका रूपमा स्थापित भइसकेको छ।
