१४ चैत, काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दमन प्रकरणमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेका छन्।
गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै सरकारले उनीहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेपछि जरुरी पक्राउ पुर्जी जारी गरी दुवै जनालाई पक्राउ गरिएको हो। अहिले ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ भने लेखकलाई प्रहरीको २ नम्बर गण, महाराजगञ्जमा राखिएको छ। उनीहरूको पक्राउलाई लिएर राजनीतिक रूपमा विभिन्न टिप्पणीहरू उठेका छन्।
यसै सन्दर्भमा अनलाइनखबरले नेपाल प्रहरीका पूर्वएआईजी टेकप्रसाद राईसँग संक्षिप्त कुराकानी गरेको छ।
राईले भने, “गत भदौमा भएको आन्दोलनबाट सत्ता परिवर्तन भइसकेको छ। नयाँ सरकार गठन भइसकेको अवस्थामा अहिलेको पक्राउलाई फौजदारीभन्दा बढी राजनीतिक घटनासँग जोडेर हेर्नुपर्छ। यो राजनीति तहबाट हेरिनुपर्ने विषय हो।”
उनले थपे, “छानबिन आयोगले नाम तोकेर कारबाही सिफारिस गरेपछि कार्यान्वयन जिम्मा सरकारको भए पनि तत्काल पक्राउ आवश्यक थिएन। कारबाही अघि अनुसन्धान टिम बनाएर चेन अफ कस्टडी र घटनास्थल मुचुल्का तयार गर्नु पर्थ्यो। पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री भाग्ने अवस्था थिएन, त्यसैले प्रक्रिया पूरा हुनु आवश्यक थियो।”
पूर्वएआईजी राईले तत्काल पक्राउको असरबारे भने, “यसलाई प्रतिशोधको रूपमा लिन सकिन्छ र एमालेले प्रदर्शन गर्ने सम्भावना छ। यस्ता घटनाले फेरि द्वन्द्वको जोखिम बढाउँछ। हामीलाई चाहिएको शान्ति र समृद्धि हो।”
उनले सरकारको प्रतिक्रिया सीमित हुनुको कारण पनि उल्लेख गर्दै भने, “मिडियाबाट प्रतिवेदन सार्वजनिक भएपछि मात्र सरकारले त्यसलाई सार्वजनिक गर्यो। प्रतिवेदन नपढी त्यसमा प्रतिक्रिया दिनु उचित हुँदैन।”
