काठमाडौं– नेकपा (एमाले)ले आफ्ना अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाइ गर्न माग गरेको छ।
शनिबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले दुवै नेताको पक्राउ गैरकानुनी भएको निष्कर्ष निकाल्दै तत्काल रिहाइको माग गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए।
बैठकले उक्त पक्राउ घटनाको निन्दा गर्दै यसलाई लोकतन्त्र र कानुनी शासनविरुद्धको कदम ठहर गरेको छ। साथै, कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गर्दै आन्दोलनका कार्यक्रमसमेत घोषणा गरिएको छ।
निर्णयअनुसार देशभरका जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने र प्रमुख जिल्ला अधिकारीमार्फत विरोध पत्र बुझाउने कार्यक्रम तय गरिएको पोखरेलले बताए।
यसैगरी, बैठकले लोकतन्त्र र कानुनी राज्यका पक्षधर अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्ने निर्णय गरेको छ। साथै, जेनजी आन्दोलनसम्बन्धी घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गर्न माग गरिएको छ।
उल्लेखनीय छ कि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा शनिबार ओली र लेखकलाई पक्राउ गरिएको थियो।
