बारा जिल्लासँग जोडिएको नेपाल–भारत सीमाक्षेत्रमा अवैध रूपमा मदिरा तथा गोरु तस्करी गर्ने दुई छुट्टाछुट्टै प्रयास भारतीय सुरक्षाकर्मीले विफल पारेका छन्। घटनामा ठूलो परिमाणमा मदिरा र दुई वटा गोरुसहित दुई जनालाई पक्राउ गरिएको छ।
सशस्त्र सीमा बल (एसएसबी) ७१औँ बटालियन मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीका अनुसार शुक्रबार राति करिब ९:३० बजे प्राप्त गोप्य सूचनाका आधारमा समवाय बरहडवा र प्रहरी चौकी जितनासँग समन्वय गरी संयुक्त निगरानी सञ्चालन गरिएको थियो।
निगरानीका क्रममा सीमा स्तम्भ नम्बर ३६७/०२ नजिक, भारततर्फ करिब ४०० मिटर दूरीमा पर्ने बरेला गाउँ आसपास राति करिब १२:३५ बजे नेपालबाट भारततर्फ सामान लैजाँदै गरेका व्यक्तिहरू शंकास्पद अवस्थामा फेला परेका थिए। सुरक्षाकर्मीले रोक्न आदेश दिएपछि उनीहरू सामान छाडेर भाग्न खोजेका थिए।
खेद्ने क्रममा एक जनालाई नियन्त्रणमा लिन सफल भएको र अन्य व्यक्ति अँध्यारोको फाइदा उठाउँदै नेपालतर्फ फरार भएको जनाइएको छ। पक्राउ पर्नेमा भारत, बिहार राज्य पूर्वी चम्पारण जिल्ला अन्तर्गत बेला जितपुर गाउँ निवासी सुधांशु शर्मा रहेका छन्।
घटनास्थलमा फालिएको सामान जाँच गर्दा जुटका ६ वटा बोराभित्र ‘कस्तुरी (निम्बु फ्रेश)’ ब्रान्डका ३०० एमएलका ५८० बोतल (कुल १७४ लिटर) मदिरा बरामद भएको एसएसबीले जनाएको छ। बरामद मदिरा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
यसैबीच, अर्को घटनामा सोही सीमाक्षेत्रबाट गोरु तस्करी गर्ने प्रयास पनि विफल पारिएको छ। इन्टेलिजेन्स सूचनाका आधारमा बि कम्पनी महुवाको गस्ती टोलीले सीमा स्तम्भ नम्बर ३७५/११ नजिकबाट दुई वटा गोरुसहित एक जनालाई नियन्त्रणमा लिएको हो।
एसएसबीका प्रवक्ता बिनित कुमार सिंहका अनुसार पक्राउ पर्नेमा पूर्वी चम्पारण जिल्लाको मसाही गाउँ निवासी मोहम्मद साबिर रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार ती गोरुहरू नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको थियो।
बरामद गोरु तथा पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित प्रहरी चौकीमा बुझाइएको एसएसबीले जनाएको छ।
