भारत सरकारले नेपाल सरकारलाई १९ थान वान–टन सवारीसाधन सहयोगस्वरूप हस्तान्तरण गरेको छ।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमार्फत उक्त सवारीसाधन पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई हस्तान्तरण गरिएको हो। भारतीय महावाणिज्यदूत मनिषकुमार दासले आइसिपीस्थित वीरगञ्ज भन्सार परिसरमा एक कार्यक्रमका बीच सवारीसाधन बुझाएका थिए।
दूतावासका अनुसार नेपाल सरकारको आग्रहअनुसार सहयोगस्वरूप ती सवारीसाधन उपलब्ध गराइएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले भारत सरकारप्रति आभार व्यक्त गर्दै प्राप्त सवारीसाधन गृहमन्त्रालयमार्फत आवश्यक निकायमा प्रयोगका लागि पठाइएको जानकारी दिए।
