काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एक पक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना नहुने बताएका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो टिप्पणी गरेका हुन्।
महरले फेसबुकमा लेखेका छन्, “दोषीलाई लुकाएर एक पक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना गर्दैन। जनताले केवल प्रतिशोध होइन, विकाससँगै सुशासनको अनुभूति खोजेका छन्। राज्यले कानुन मिचेर अगाडि बढ्दा प्रतिशोधले देश जलाउने मात्रै हो।”
उनले अपराधको प्रकृति र गम्भीरताअनुसार प्रचलित कानुनबमोजिम निष्पक्ष र समान रूपमा सजाय सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्।
साथै, भदौ २३ र २४ गते भएका घटनामा योजनाबद्ध रूपमा घुसपैठ गराई ध्वंस मच्चाउने तत्त्वहरूको निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने माग समेत महरले गरेका छन्।
