काठमाडौं– शुक्रबार साँझ परेको वर्षापछि रोशी खोलामा आएको बाढीले बगाउँदा डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत कार्यरत एक कर्मचारीको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय मङ्गलटारका अनुसार रोशी गाउँपालिका–७ का करिब ४० वर्षीय कुन्साङ तामाङको बाढीमा परी मृत्यु भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार तामाङ विपी राजमार्गअन्तर्गत निर्माणाधीन सडकमा सुपरभाइजरका रूपमा कार्यरत थिए।
प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार राति मोटरसाइकलमा सवार दुई जना खोला तर्ने क्रममा बग्न लागेपछि उनीहरू मोटरसाइकल छाडेर नजिकैको स्काभेटरमा चढेका थिए। उनीहरूलाई जोगाउन जाने क्रममा तामाङलाई बाढीले बगाएको हो। घटनामा एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडी समेत बगाएको प्रहरीले जनाएको छ।
यसैबीच, अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण विपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार साँझ ६ बजेदेखि रोशी गाउँपालिकाअन्तर्गत भकुण्डे–नेपालथोक सडकखण्डका विभिन्न स्थानमा लेदोसहितको पहिरो र खहरे खोलामा बढेको पानीको बहावले यातायात अवरुद्ध भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटार क्षेत्रमा सडक अवरुद्ध भएको छ। वर्षा कम भएसँगै आज बिहानदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छ्याउने काम भइरहेको छ।
गत वर्षको बाढीपहिरोले क्षति पुर्याएपछि अस्थायी रूपमा खोलामार्गबाट सञ्चालनमा ल्याइएको सडक पुनः प्रभावित बनेको छ। सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले धुलिखेलको काभ्रेभञ्ज्याङ, भकुण्डे, नेपालथोक र मङ्गलटार क्षेत्रमा सवारीसाधन होल्ड गरेको जनाएको छ।
