पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शनिबार गुण्डु बाट नियन्त्रणमा लिइएको हो। पक्राउसँगै प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी पनि थमाएको जनाएको छ।
शुक्रबार नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो।
जेनजी प्रदर्शनबारे छानबिन गर्न गठन गरिएको आयोगले आफ्नो प्रतिवेदनमा ओलीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो। चैत २४ मा बुझाइएको उक्त प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले पूर्व गृहमन्त्री रमेश लेखक लाई समेत फौजदारी कारबाहीका लागि सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रमा किशोरहरूमाथि गोली प्रहार भएको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार ठहर गरेको छ। उक्त प्रदर्शनका क्रममा कुल ७६ जनाको मृत्यु भएको जनाइएको छ।
