काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह ले पदभार ग्रहण गरेलगत्तै दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राख्दै महत्वपूर्ण निर्णय गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा. दीपक काफ्ले ले प्रस्ताव गरेको ‘नेसनल एकेडेमी अफ भोक्सनल ट्रेनिङ’ सम्बन्धी एक महिनाको रणनीतिक योजना तयार गर्ने प्रस्तावमा मन्त्री साहले हस्ताक्षर गरेका हुन्।
निर्णयपछि मन्त्री साहले नेपालमा रोजगारीको प्रमुख समस्या दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै विशेषगरी वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने नेपाली कामदारको अवस्था अझै चुनौतीपूर्ण रहेको बताए। उनले देशमै सीपयुक्त जनशक्ति उत्पादन गरी रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।
महोत्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित मन्त्री साहले आफूलाई प्राप्त जनादेशअनुसार जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर कार्ययोजना अघि बढाउने बताए। उनले शिक्षासँगै सीपमूलक तालिमलाई जोड दिनु आजको आवश्यकता भएको उल्लेख गरे।
मन्त्रालयका सचिव काफ्लेले सरकारले पाँच वर्षभित्र सीप र रोजगारीबीच प्रभावकारी सम्बन्ध स्थापित गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाउने जानकारी दिए।
